यस्तो छ चिकित्सकको सुझाब , बर्डफ्लुका बेला कुखुराको मासु खाए के हुन्छ?

काठमाडौं : यतिखेर काठमाडौंको केही स्थानमा बर्डफ्लु भेटिएको बताइएको छ। स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअगाडि काठमाडौंको धर्मस्थलीको एक घरमा पालिएको हाँस फर्ममा बर्डफ्लु भेटिएको बताएको छ।
महाशाखाका प्रमुख डा. केदार सेन्चुरीले धर्मस्थलीको हीरा तामाङको घरमा पालिएको हाँस फर्ममा बर्डफ्लु देखिएको र अहिले सो फर्मको सम्पूर्ण हाँस र कुखुरा मारिसकिएको बताए। उनले भने, ‘केही दिनअगाडि धर्मस्थलीमा बर्डफ्लु देखियो हामीले त्यहाँका हाँस र कुखुरा सबै मार्ने काम गर्‍यौँ, अहिलेसम्म त्यस ठउँबाहेक अन्य ठाउँमा अहिलेसम्म बर्डफ्लु देखिएको छैन, तर हामी संक्रमण बढ्न सक्ने देखिएकाले उच्च सतर्कता अपनाइरहेका छौँ।’ यसरी काठमाडौंमा बर्डफ्लु फैलिएको सूचना बाहिरिएपछि कुखुराको मासुको भाउ ह्वात्तै घटेको छ भने धेरैमा यस्तो बेलामा कुखुराको मासु खान हुने वा नहुने भन्ने दोधार देखिन्छ।
७० डिग्रीमा पकाएर खान हुने यस्तो अवस्थामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा अनुप बास्तोलाका अनुसार धेरैमा बर्डफ्लु देखियो भन्नेबित्तिकै कुखुराको तथा पक्षीजन्य मासु खानै हुँदैन भन्ने भ्रम रहेको तर राम्रोसँग मासु पकाएर खान हुने बताए। उनले भने, ‘धेरैलाई बर्डफ्लु देखियो भन्नेबित्तिकै कुखुराको मासु खानुहुँदैन भन्ने छ, तर राम्रोसँग पकाएर खाँदा आतिनुपर्दैन।’ यस्तै मासुलाई ७०डिग्री तापक्रमा पकाएर खानु राम्रो हुनेसमेत डा.बास्तोलाले बताए। उनले भने, ‘यस्तो बेलामा कुखुराको मासुलाई न्यूनतम ७० डिग्रीसम्म पकाएर खानु राम्रो हुन्छ, तर कुखुराको फर्म मा काम गर्नेले चाहिँ विशेष ध्यान दिनुपर्छ।’ यसरी सर्छ बर्डफ्लु डा. वास्तोलाका अनुसार बर्डफ्लु पक्षीमा हुने एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरस मानिसमा सरेपछि देखिने प्राणघातक रोग रहेको र यो भाइरस अति छिट्टै मानिसमा सर्ने हुन्छ। मानिसको शरिरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणू जन्मिने र त्यसको कारण मानिसको मृत्यु हुने गर्छ।
बर्डफ्लु संक्रमित पक्षीहरुको पक्ष सम्पर्कबाट भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्ने गर्छ। कुनै पनि पक्षीमा बर्डफ्लु भाइरस छ भने सो भाइरस संक्रमित पक्षीबाट १० दिनसम्म सर्ने सम्‍भावना रहनेसमेत डा.बास्तोलाले बताए। सामन्य कुरामा ध्यान नदिँदा पक्षीसँग प्रत्य‍क्ष सम्पर्कमा आउँदा बर्डफ्लु सर्ने गर्छ। त्यस कारण मासु चालाउँदा वा कुखुरा, हाँसको फर्ममा काम गर्दा विशेष ध्यान दिनुपर्छ। फर्ममा काम गर्दा माक्स लगाउने, पक्षीको र्‍याल छुनबाट जोगिने गर्नुपर्छ। बर्डफ्लुका भाइरस एउटा मानिसबाट अर्को मानिसमा सरेको तथ्य भने हालसम्म भेटिएको छैन। मानिसमा यो रोग लागेमा मृत्यु हुने खतरा ६० प्रतिशत रहन्छ।
thahakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *