जानी राखौं यस कारण निदाउँछन् हाम्रा हातखुट्टा

के तपाईं राति, बिहान एक्कासि उठ्दा वा कुनै ठाउँमा निरन्तर बसिरहेपछि हात वा खुट्टा केही क्षणको लागि चेतनाहीन हुने समस्यामा पर्नुभएको छ?
कुनै पनि उमेरमा अचानक हुने यो समस्यामा कहिलेकाहीं हाम्रो हातखुट्टा संवेदनाहीन हुन्छन्। हामी लाई कुनै पनि कुरा छोएको संवेदना हुँदैन। यो सँगै प्रभावित स्थानमा दुखाइ, झमझम हुनु, कमजोरी आदि असामान्य अनुभव पनि हुन सक्छ। बोलचालको भाषामा हामीले यसलाई हातखुट्टा निदाएको भन्छौं।
निदाएको वा संवेदना गुमाइसकेको अंगमा अलिअलि झमझम हुन्छ। यसपछि हामी के अनुभव गर्छौं भने ती अंग विशेष चेतनाहीन भए। सियो घोचाइजस्तो अनुभव हुन सक्ने भए पनि दुखाइ भने थाहा हुँदैन।
चिकित्सकहरूका अनुसार बस्दा बस्दै वा एउटै मुद्रामा काम गर्दै शरीरको कुनै अंग संवेदनाहीन हुने समस्याबाट नजुध्नेहरू विरलै हुन्छन्।
‘स्वस्थ व्यक्तिलाई समेत शरीरको अंग एक्कासि संवेदनहीन हुनु आम व्यक्तिमा देखिने सामान्य समस्या हो,’ त्रिवि शिक्षण अस्पताल, स्नायु विभागका स्नायु रोग विशेषज्ञ प्राडा.जेपी अग्रवाल भन्छन्, ‘यो समस्या देखिनु पछाडि सामान्य दबाब पर्नुसँगै लिएर नशासम्बन्धी समस्या, हाड खिइनु, भिटामिनको कमी लगायतका थुप्रै कारणहरू हुन सक्छन्।’
धेरैजसो व्यक्ति यो समस्या सुत्दाताका अनुभव गर्छन्। हरेक व्यक्ति पृथकपृथक स्थितिमा सुत्ने गरेका छन्। सुत्दाताका कहिलेकाहीं हातखुट्टा संवेदनाहीन भएको अनुभव गर्छन्। यसको कारण त्यो अंग विशेषको रगतको धमनी वा नशामा दबाब बढी समय रहनु हो।
यो समस्या केही मिनेटका लागि भए आत्तिनुपर्ने केही छैन। तर यस्तो स्थिति घन्टौं जारी रहे वा पटक(पटक भइरहे चिकित्सकीय परामर्श अत्यावश्यक हुन्छ।
अंग विशेष निदाउने प्रक्रिया जटिल छ। प्रा.डा.अग्रवालका अनुसार कुनै खास परिस्थिति, अवस्थाले गर्दा शरीरमा पर्ने दबाब अंग विशेषको थुप्रै कोषीय फाइबरबाट बनेको नशाहरूमा पर्छ। प्रत्येक कोषीय फाइबर फरक–फरक संवेदनालाई मस्तिष्कमा पुर्‍याउँछ।
यो फाइबर ‘माइलिन’ नाम गरेको सेता पदार्थले बनेको झिल्ली हो। यसमा दबाब पर्दा मस्तिष्कसम्म नशाद्वारा पर्याप्त मात्रामा सञ्चार हुन पाउँदैन।
‘सञ्चारको अभावमा मस्तिष्कसम्म त्यो अंगबारे पुग्ने जानकारी अबरुद्घ हुँदा त्यहाँ संवेदना अनुभव हुँदैन अंग चेतना हिन हुन्छ,’ प्रा.डा.अग्रवाल भन्छन्, ‘तर त्यो अंग विशेषमा केही समय विशेषका लागि परेको दबाब हटेपछि सञ्चार जारी भएर ती अंग विशेषको संवेदना फर्कन्छ।’
रक्त सञ्चारमा कमी, नशा च्यापिएर वा नशा विकृत भएरसमेत हातखुट्टा निदाउने समस्या हुन सक्ने उल्लेख गर्दै प्रा.डा.अग्रवाल भन्छन्, ‘स्वस्थ व्यक्तिलाई हातखुट्टा निदाउने समस्या बारम्बार देखिन थाले एकपटक विशेषज्ञसँग देखाउनु आवश्यक हुन्छ।’
रक्त सञ्चार वा नशाको कारण मात्र नभएर हातखुट्टा निदाउने समस्या कहिलेकाहीं स्पोन्डुलाइटिस अर्थात् हाड खिइने समस्याले समेत देखिन सक्छ। भिटामिन बी १२ लगायत अन्य भिटामिनको कमीले समेत अंग निदाउने समस्या देखिन सक्छ भने अस्टियोअर्थराइटिसमा पनि यो समस्याले च्याप्न सक्छ।
हाड, भिटामिन, नशाको कारणले हुने हातखुट्टा निदाउने समस्या सामान्यत: उमेरको चार दशक पार गरेकाहरूमा बढी देखिन्छ। तर शरीरमा पर्ने असामान्य दबाबले गर्दा यो समस्या जुनसुके उमेरसँगै जुनसुकै बेला हुन सक्छ।
‘उमेर पुगिसकेकाहरूमा रक्तनलीमा समस्या, उच्च रक्तचाप लगायतकाले गर्दा यो समस्या बढी देखिन्छ,’ प्रा.डा.अग्रवाल भन्छन्, ‘यो समस्यामा सबैभन्दा पहिले फिजिसियनसँग देखाउनु उपयुक्त हुन्छ।’ फिजिसियनले बिरामीमा यो स्नायु, हाडजोर्नी वा रक्तनलीसँग सम्बन्धित रहेको निक्र्यौल गरेर विशेषज्ञ नजिक रेफर गर्न सक्छन्।
कहिलेकाहीं एक्कासि हातखुट्टा निदाउने समस्यामा तुरुन्त चिकित्सकीय सहयोगसमेत आवश्यक हुन्छ। यसो नगरे जटिल स्वास्थ्य समस्यासमेत देखिन सक्छ।
‘एक दमै अचानक हात वा खुट्टा दुख्नु, चलाउन नसक्ने हुनु कहिलेकाहीं चेतनाहीन हुने भयो भने तुरुन्त चिकित्सकीय सहयोग दिनु आवश्यक हुन्छ,’ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ कार्डियो थोरासिक सर्जन प्रा.डा.भगवान कोइराला भन्छन्, ‘यो समस्या रगत नलीबाट रगत सञ्चार नभएर हुन सक्ने भएकोले यसमा छिटो रगत नलीसम्बन्धी विशेषज्ञको सुझाव आवश्यक हुन्छ।’
पलेँटी मारेर लामो समयसम्म बस्दासमेत पैताला निदाउने, कमजोर हुने समस्या देखिन्छ। योगअन्तर्गत पलेँटी मारेर लामो समयसम्म बस्ने नेता, व्यापारी, बुद्घिजीवी लगायतकाहरू पैताला निदाउने, कमजोर हुने समस्यासहित पुग्ने गरेको प्रा.डा.अग्रवाल बताउँछन्।
पलेँटी मारेर लामो समयसम्म बस्दा ‘कमन पेरोनियल नर्भ’ मा दबाब पर्ने निचोर्ने (कम्प्रेसन) काम सुरु हुने उल्लेख गर्दै प्रा.डा.अग्रवाल लामो समयसम्म पलेँटी मारेर न बस्ने सुझाव दिन्छन्।
‘हातखुट्टा निदाउने प्राय:जसो स्नायुको नशासँग सम्बन्धित हुन्छ,’ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक एवं कार्डियोभास्कुलर सर्जन प्रा.डा.उत्तम कृष्ण श्रेष्ठका अनुसार केही खास अवस्थामा अंग विशेष निदाउने समस्या भए भास्कुलर शल्यचिकित्सकको सल्लाह
आवश्यक हुन्छ।
प्रा.डा. श्रेष्ठका अनुसार हातखुट्टा निदाउने समस्या रगतको नशासँग सम्बन्धित भए समयमै उपचार नगरे हातखुट्टा गुम्ने सम्भावनासमेत हुन्छ।
घरेलु सामान्य उपचारअन्तर्गत हातखुट्टा निदाउँदा प्रभावित ठाउँमा तातो पानीले सेक्दा रक्त सञ्चारमा वृद्घि भएर नशासँगै मांसपेसीहरू तनावरहित हुन्छ।
निदाएको हातखुट्टामा मालिस गर्दासमेत रक्त सञ्चार वृद्घि भएर संवेदना फर्कने गर्छ। सुख्खा मालिससँगै न्यानो तेल मालिस फायदाकारी हुन्छ। व्यायामले समेत निदाएको अंगलाई राहत प्रदान गर्छ। यसले शरीरमा रक्तसञ्चारसँगै अक्सिजनको मात्रामा वृद्घि हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *