कविता: सम्झना

-प्रतिभा पौडेल  

आफू तातेताते खेलेको 
त्यो आँगन सम्झिन्छु
बाल्यकालमा सपना देखेको 
त्यो गगन सम्झिन्छु
साथीसङ्गी रमाई हिँडेको 
त्यो बाटो सम्झिन्छु
आफू खाई बढेको फल फलेको 
त्यो माटो सम्झिन्छु ।

धुलो देख्छु, धुवाँ देख्छु 
त्यो हरियाली वन सम्झिन्छु 
पराईका स्वार्थी कुरा सुन्छु 
त्यो आफ्नोपन सम्झिन्छु 
छप्ल्याक छुप्लुक पौडिएका पोखरी, कुवा 
अनि धारा सम्झिन्छु
सद्भाव र अपनत्वविहीन यो सहरमा 
छरछिमेक, गाउँबेसी, सारा सम्झिन्छु ।

को आफ्नो को पराइ पहिचान छैन, 
त्यो भाइचाराको गीत सम्झिन्छु 
हार मात्रै देख्छु यतातिर 
त्यो सामूहिक जित सम्झिन्छु 
त्यो हरियाली वन सम्झिन्छु 
पराईका स्वार्थी कुरा सुन्छु 
त्यो आफ्नोपन सम्झिन्छु ।।

-वनस्थली १६, काठमाडौँ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *