हकिङ्ग : जसले ह्वीलचेयरबाट ब्रम्हाण्डको यात्रा गरे

काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्री तथा एक करोडको सङ्ख्यामा बिक्ने पुस्तकका लेखक जसले व्हील चियरमा बसेर ब्रम्हाण्डको भ्रमण गरे, गुरुत्वाकर्षणको प्रकृति र ब्रम्हाण्डको उत्पतिको खोज गरे र जो मानव दृढता र जिज्ञासाका प्रतिक बने उनै स्टेफन हकिङ्गको बुधबार विहान बेलायतको क्याम्ब्रिजस्थित आफ्नो निवासमा निधन भएको छ । उनी ७६ वर्षका थिए ।
उनको मृत्युलाई क्याम्ब्रीज विश्वविद्यालयका प्रवक्ताले पुष्टि गरे ।

“अल्बर्ट आइन्स्टाइनपछि सायदै कुनै वैज्ञानिक हकिङ्गले जति सार्वजनिक कल्पनामा बास गरेका छन् । उनी विश्वभर रहेका करोडौँ मानिसहरुका प्यारो थिए,” सिटी युनिभरसिटी अफ न्यू योर्कका सैद्धान्तिक भौतिकशास्त्रका प्राध्यापक मिचिओ काकुले भने ।

डा. हकिङ्गले सो काम उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ को प्रकाशन मार्फत गरेका थिए । सन् १९८८ मा प्रकाशित यो किताब १ करोडभन्दा बढी प्रतिहरु बिक्री भइसकेको छ । सन् २०१४ मा सार्वजनिक भएको उनको जीवनमा आधारित फिल्म “थ्योरी अफ एभ्रिथिङ्ग’ कयैन विधामा ओस्कार पुरस्कारमा मनोनित थियो र डा. हकिङ्गको भूमिका निभाएका एडि रेडमाइनले उत्कृष्ट अभिनेता अन्तर्गत पुरस्कार जित्न पनि सफल भए ।

वैज्ञानिक रुपमा डा. हकिङ्गलाई उनको अदभुद आविष्कारको लागि सम्झिइनेछ जसलाई ‘जेन रहस्य’ जसरी प्रस्तुत गर्न सकिन्छ ः ब्लाक होल कहिले कालो हुँदैन ? जब यो विस्फोट हुन्छ ।

उनको करियर हुनु पनि उत्तिकै अदभुद कुरा हो । सन् १९६३ मा स्नातकोत्तर पढ्दै गर्दा उनलाई स्नायुसम्बधि ए.एल.एस. रोग भएको पत्ता लाग्यो । यो रोगले क्रमशः विरामीको शरीरका अङ्ग नियन्त्रण गर्ने नसाहरु मार्दै जान्छ । यो रोग लागेका अधिकांश विरामीहरु दुई वर्ष भित्रै सम्पूर्ण नसा मरेर दिवगंत भएका छन् । यही कारणले उनको उपचारमा संलग्न डाक्टरले उनलाई पनि दुई वर्षको समय दिएका थिए ।

तर, उनको सन्दर्भमा रोग निक्कै बिस्तारै फैलियो । रोगका कारणले उनको आँखामात्र चल्ने अवस्थामा पुगेको भएपनि यसले उनको दिमागलाई भने असर गरेन ।

उनी आफ्नो पुस्ताको गुरुत्वाकर्षण अध्ययन र कालो छिद्र (ब्लायक होल) अध्ययनको नेता भएर निस्के ।

यो खोजले आधुनिक भौतिकशास्त्रमा महत्वपूर्ण मोड ल्याउने काम ग¥यो । यो कुरा उनको दिमागमा सन् १९७३ को अन्तिम तिर आएको थियो जब हकिङ्गले भौतिकशास्त्रमा अति साना परमाणविक संसारमा लागु हुने अनौठो सिद्धान्त ‘क्वान्टम सिद्धान्त’ कालो छिद्रमा प्रयोग गरे । त्यसपछि लामो र अत्यन्त कठिन हिसाब पछि उनले कालो छिद्र यथार्थमा त्यति कालो नहुने पत्ता लागाए । खासमा निरन्तरको उर्जा क्षयले गर्दा कालो छिद्र अन्त्यमा विष्फोट भएर हराएर जाने कुरा पत्ता लाग्यो ।

गणितिय हिसाबबाट आएको यो आविष्कारलाई कसैले पनि विश्वास गरेनन् । कालो छिद्रबाट पदार्थ निस्कन्छ भन्ने आविष्कारमा शुरुमा हकिङ्गलाई समेत विश्वास लागेन । “मैले खासमा त्यो खोजिरहेकै थिइनँ,” सन् १९७८ मा दिइएको अन्तर्वार्तामा उनले यो घटना स्मरण गरे । “मैले नखोजेको परिणाम निष्केकाले मलाई रिस उठेको थियो ।”

सन् १९७४ मा ‘नेचर’मा ‘ब्लाक होल एक्स्प्लोजन’ शीर्षकमा प्रकाशित भएको उनको सो हिसाबसहितको आलेखलाई आज धेरै वैज्ञानिक प्रकृतिलाई व्याख्या गर्न प्रयोग भइरहेको विशाल वस्तुको लागि गुरुत्वाकर्षण र सुक्ष्म बस्तुको लागि क्वान्टम सिद्धान्तलाई जोडेर एउटै सिद्धान्त निर्माण गर्ने पहिलेदेखिको प्रयास तर्फको ठूलो कोशेढुङ्गा मान्दछन् ।

आज ‘हकिङ्क रेडिएसन’ भनेर चिनिने सो व्याख्याको आविष्कारपछि कालो छिद्रको बुझाईमा व्यापक परिवर्तन आयो । यो सिद्धान्तले कालो छिद्रलाई संहारकर्ताबाट श्रृष्टिकर्ता वा कम्तिमा पनि पुनर्उत्पादकमा बदलिदियो । साथै यसले त्यो एकिकृत अन्तिम सिद्धान्त निर्माणको सपनालाई एक अलग र नयाँ दिशा दियो ।

“यदी तपाई कालो छिद्रमा कोही हाम फाल्यो भने के हुन्छ भनेर सोध्नुहुन्छ भने म निश्चिन्तका साथ उ बाच्दैन भन्न सक्छु,” डा. हकिङ्गले सन् १९७८ को एक अन्तवार्तामा भनेको थिए । “अर्को तर्फ,” उनले थपे, “यदी हामीले कसैलाई कालो छिद्रमा हामफाल्न लगायौं भने उ र उसमा निहित आणुहरु त फर्केर आउँदैनन् तर उसको पिण्ड–उर्जा भने त्यहाँबाट निस्कनेछ । सायद यही कुरा पूरा ब्रम्हाण्डमा लागु हुनेछ ।”
डा. हकिङ्गको थेसिसका सल्लाहकार रहेका डेनिस स्कीआमाले ‘नेचर’मा प्रकाशित हकिङ्गको आलेखलाई “भौतिकशास्त्रको इतिहासमा सबैभन्दा सुन्दर आलेख” भनेका छन् ।

‘इन्स्चिच्युट फर एडभान्स स्टडी’का भौतिकशास्त्री एडवर्ड विट्टेनले भने “हकिङ्गको आविष्कारलाई अझ राम्ररी बुझ्ने प्रयासमा पछिल्लो चालिस वर्षमा कयैन नयाँ आविष्कारहरु भएका छन् । आज पनि हकिङ्गको सिद्धान्त नयाँ लाग्छ ।”

सन् २००२ मा डा. हकिङ्गले ‘हकिङ्ग रेडिएसन’को सूत्र आफ्नो समाधीस्थलमा खोप्न चाहने बताएका थिए ।

हकिङ्ग आफ्नो सीमालाई विस्तार गर्ने व्यक्तिको रुपमा चिनिन्छन् । उनले यो कुरा आफ्नो बौद्धिक जीवनमा मात्र होइन व्यक्तिगत र व्यावसायिक जीवनमा पनि लागु गरे । उनले वैज्ञानिक बैठकहरुमा सहभागिताको लागि सम्पूर्ण पृथ्वीको भ्रमण गरे । यस क्रममा उनले सबै महादेशहरुको भ्रमण गरेका छन् । उनले दुई पटक विवाह गरे र तीन सन्तानहरुको पिता भए । साथै उनले ‘द सिम्पसन्स’, ‘स्टार ट्रेकः नेक्स्ट जेनेरसन’ र ‘द विग व्याङ्ग थ्योरी’मा अभिनय समेत गरे ।

उनले आफ्नो ६० जन्मोत्सव हट एअर वेलुनमा उडेर मनाएका थिए । सोही हप्ता उनले आफ्नो व्हीलचेयर बेजोडसँग कुदाउँदा लडेर खुट्टा समेत भाँचेका थिए । सन् २००७ अप्रिलमा उनको ६५ औ जन्मोत्सवको केही महिनापछि उनले शुन्य गुरुत्वाकर्षणमा उडान गरेका थिए ।

तपाईं यस्ता खतराहरु किन लिनुहुन्छ भन्ने प्रश्नमा डा.हकिङ्गको जवाफ थियो “म मानिसहरुलाई शारीरिक असक्तताले तिनलाई सिमित पार्न दिनुहुन्न भनेर देखाउन चाहन्थे ।”

उनको उत्साहले धेरैलाई आश्र्चयचकित बनायो । “उनको जीवन निक्कै सफल रह्यो,” डा. हकिङ्गको लामो समय सहकर्मी रहेका क्याब्रिड्ज विश्वविद्यालयका खगोलशास्त्री मार्टिन रिजले भने, “उनको नाम विज्ञानको इतिहासमा जिवित रहनेछ – लाखौँले उनको कितावमार्फत ज्ञान विस्तार गरे अझ धेरैलाई उनको त्यो हदको असक्ततामाझ पनि असाधारण इच्छाशक्ति र दृढताका कारण उनले प्राप्त गरेको सफलताले प्रेरित गर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *