कविता:आउंदै गरेको विश्व नारी दिवस को अवसरमा कोसेली स्वोरुप

अम्बिका कार्की “अमु” :

“मलाई वेश्या भन “

माइक अगाडि उभिएर
तिमीले भन्छौ
“नारी भनेका धर्ती हुन् “
“नारी नै सृष्टि कर्ता हुन् “
अनि त्यही रात
यौवनको प्यास मेटाउन
उन्मत्त भएर
कतै लाइन लगाएर
नजरको छनौटमा
परेकीलाई
अंगालोमा बेर्दै
चुम्बन गरि मोहमा फसाउँनु भन्दा
नारी हकको कुरा नउठाई
मलाई वेश्या भन ।

मैले स्वतन्त्रताको गीत गाउनु भन्दा
मैले परिवर्तनको नारा लगाउनु भन्दा
र समानताको आवाज निकाल्नु भन्दा
अघि मेरो छातीमा टेकेर
मलाई बलत्कार गर्नेको लर्को कम भएन
त्यसैले
अबको यो संस्कृतीलाई
बढावा दिदैं जाऊ
अन्त्यको लागि पहल नगरी
बरु मलाई वेश्या भन ।

संघारमा नै भूगोलको
भु – मध्य रेखा जस्तो
रेखा कोरेर
मरुभूमिको दासता
बनाई लाखौं मूल्य बराबरका
साङ्लो पहिराएर
तिम्रा अतृप्त तृष्णा
मेटाउनु अघि
मलाई वेश्या भन ।

अग्र प्राणीका रुपमा
आफूलाई निकै तागतिलो सम्झेर
म जन्मिनु अगावै
बिज्ञानको सहायतामा
भ्रुण मै सेरिनु अघि
मलाई वेश्या भन ।

श्रम शोषणका विरुद्ध
मैले उठाएका हरेक बिषय
तिम्रो न्यायलयको दैलोबाट भित्र पस्नु अगाडि नै
मलाई वेश्या भन ।

नत्र

किन हुन्छन् भ्रुणमा हत्या?
किन गरिन्छन् धर्ती कै बलात्कार ?
किन चुनिन्छे नारी प्रयोगका निम्ति ?
किन लेखिदैन समानता ?
किन असुरक्षित छन् नारीहरू ?
प्यासीका प्यास मेटाउने नदि
अनि
हक अधिकार कै लागि
अर्धमृत बनाएर
जिवित राख्ने मात्र
तिम्रो उदेश्य हो भने
मैले लडेकाका हरेक लडाई के का लागि ?
त्यसैले पनि म वेश्या बन्न तयार छु
भन्न बाध्य भएकोछु ।
तिम्रो जो बिचार ….

अम्बिका कार्की अमु
सर्लाही वाग्मती न पा
हाल चितवन भरतपुर‏

Leave a Reply

Your email address will not be published. Required fields are marked *