यसरी तयार गरिन्छन्– बोको हरामका आत्मघाती ‘सुन्दरी’

फलमतको सम्पूर्ण शरीरको शृङ्गार हुँदैछ । उनको खुट्टामा हेनाको बाक्लो लेप लगाइएको छ । त्यो सुकिरहँदा एक महिला उनको कपालमा व्यस्त छिन् । उनी फलमतको कपाल कोर्नेदेखि सिधा बनाउने काम गरिरहेकी छिन् ।

‘हामीलाई कपालको जुनै शैली वा हिना चुन्ने स्वतन्त्रता रहेको छ ।’ फलमत सम्झन्छिन् । ‘हामीलाई हात, खुट्टा र कहिलेकाहीँ घाँटी रङ्ग्याउन पनि हिना दिइन्थ्यो ।”

फलमतलाई आफू सुन्दर भइरहेको थाहा थियो । तर त्यसको परिणाम भने प्राणघातक हुँदै थियो ।

शृङ्गार सकिएपछि उनको कम्मरमा एक आत्मघाती बम लगाइनेछ ।

फलमत बोको हरामका सैन्यले अपहरण गरेका सयौँ युवतीमध्ये एक हुन् । तीमध्ये पनि अधिकांश किशोरीहरू छन् । यीनले तिनका लागि मिसन सम्पन्न गर्न प्रयोग गरिन्छ ।

उलेख्नीय कुरा उनी बाँचिन् ।

दुईजना बसेको मोटरसाइकलमा जबरजस्ती चढाइँदा उनको उमेर १३ वर्ष मात्र थियो । सो समय उनी क्यामरुनको सीमा नजिक रहेको आफन्तको घर नजिक हिँडिरहेकी थिइन् ।

उनलाई मोटरसाइकलमा राखेर जङ्गलको बाटो घण्टौँको यात्रापछि एक ठूलो अस्थायी क्याम्पमा पुर्याइयो । फलमतलाई आफू कहाँ आइपुगँे भन्ने अलिकति हेक्का पनि थिएन । “त्यहाँ धेरै टेन्टहरू र झुप्रा घरहरू थिए ।” उनले भनिन्– ‘साना केटीहरूलाई टेन्टमा राखियो । म राखिएको टेन्टमा नौ जना थियौँ । सुत्नलाई भुइमा म्याट राखिएको थियो ।’

क्याम्प बोको हरामको थियो । यो सैन्य समूह उत्तरी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्न लामो समयदेखि सङ्घर्षरत छ ।

‘सुरुमा म भाग्न खोजेँ तर त्यसको कुनै सम्भावना थिएन ।’ उनले भनिन् । भाग्न खोज्नेहरूको निगरानी गर्न क्याम्प वरपर धेरै मानिस राखिएका थिए ।

त्यहाँ गएको केही पछि नै फलमतलाई लडाकूसँग विवाह गर्ने वा ‘मिसन’मा जानेमध्ये एक विकल्प छान्न भनियो ।

उनले विवाह गर्न अस्वीकार गरिन् । ‘मैले आफू यसका लागि निक्कै सानो भएको बताएँ ।’ उनले भनिन् ।

तर मिसन भनेको के हो भनेर उनीसँग कुनै ‘आइडिया’ थिएन ।

‘मिसन’
सुरुमा फलमतलाई क्याम्प डरलाग्दो लाग्यो । अवस्था निक्कै कठोर थियो । उनीजस्तो पक्रिएर ल्याइएको केटीहरू र केटाहरूलाई थप डर हुन्थ्यो । सेनासँग जम्काभेट भएमा भिडन्तमा परिने डर ।

अकाशमा हेलिकप्टर वा प्लेन देखिए बन्दीहरू आतिन्थे । उनीहरू माथिबाट सेनाले बम बर्साउलान् भनेर डराउँथे ।

‘जब हामी तिनलाई देख्थ्यौँ डरले धेरै रुन्थ्यौँ ।’ उनले भनिन्– “केही त आफूमाथि माटो दलेर सुत्थेँ ।’

बाँकी समय क्याम्पको दैनिकी निक्कै एकतमासको हुने गथ्र्यो : उठ, प्रार्थना गर, खाऊ, सफा गर, सरसफाई गर, फेरि प्रार्थना गर, खाऊ र साफसुग्घर गर । यत्तिमा दिन सकिन्थ्यो ।

प्रार्थना अन्तर्गत दैनिक धार्मिक पाठहरू हुने गथ्र्यो । त्यसअन्तर्गत घण्टौँ कुरानको लाइनहरू घोक्नुपथ्र्यो । फलमतलाई क्याम्पको एक मात्र मन पर्ने कुरा भनेको धार्मिक शिक्षण थियो ।

एक दिन उनको दैनिकीको यो एकतमासपनमा अवरोध आयो । फलमतलाई भेट्न केही सशस्त्र पुरुषहरू आए र उनलाई केही महत्वपूर्ण कामका लागि तयार रहन भने ।
त्यसैको तयारीका रूपमा उनको खुट्टामा हेना लगाइयो र कपालको साजसज्जा गरियो ।

उनलाई आफ्नो विवाहको तयारी त भइरहेको छैन भन्ने पनि लाग्यो । के साँच्चै उनको कुनै लडाकूसँग विवाह हुँदै थियो ?

महिलाहरूले फलमतलाई अन्जान महत्वपूर्ण कामका लागि तयार गर्न लागे । ‘त्यो बेला मेरो दिमागमा आएको एउटै कुरा थियो, ‘के यो सबै विवाहको लागि त भइरहेको छैन ?’ तर तपाईंलाई यसो किन गरिँदै छ भनेर सोध्न पनि पाइँदैन थियो । बरु साथीहरूले सान्त्वना दिए र शान्त हुन भने ।”

दुई दिनपछि उन भए ठाउँमा लडाकूहरू पुनः आए । एउटा बम उनको कम्मरमा बाँधियो ।

फलमतलाई यदि उनले अधार्मिक मान्छेहरूलाई मारिन् भने उनी सीधा स्वर्ग जाने भनियो ।

सो कामका लागि अरू महिलालाई जस्तै उनलाई पनि भीडभाडयुक्त ठाउँ वा बजार जान भनियो ।

‘म निक्कै डराएकी थिएँ । तर तिनले मलाई शान्त रहन भने । जीवनको रीत यस्तै रहेको स्वीकार्न भने ।’ उनले सुनाइन्– “तिनले स्वर्ग पुगेपछि सबै कुरा ठीक हुने भने ।”

क्याम्पका अरू दुई केटीहरूलाई पनि कम्मरमा विष्फोटक बाँधिएको थियो । तीनैजनालाई गाउँको किनार लगियो । त्यसपछि उनीहरूलाई व्यस्त क्षेत्रमा जान भनियो । साथै तिनलाई टाढाबाट कसैले निगरानी गरिरहने पनि भनियो ।

तिनको हातमा घरमा बनाइएको सानो डिटोनेटर थमाइएको थियो ।

अगाडि बढिरहँदा तीनजनाले ‘मिसन’लाई मूर्तरूप दिने कि छाड्ने भनेर सल्लाह गरे । सबैले आक्रमण नगर्ने निर्णय गरे । छेल पर्ने ठाउँमा पुगेपछि भेटिएका एक अपरिचितको सहयोगबाट आफ्नो कम्मरमा रहेको बेल्ट खोले र फलमत धुलाम्मे सडकबाट तल लागिन् ।

उनी केही अगाडि मात्र बढेकी थिइन्, उनको भेट दुई पुरुषसँग भयो । तिनीहरू पनि बोको हरामका सैन्य रहेछन् तर उनलाई पहिले बन्दी बनाएको भन्दा फरक युनिटको । तिनले उनलाई दोस्रो पटक अपहरण गरे ।

आत्मघाती बम हमलाको इतिहास
आधुनिक इतिहासमा साना मेहयिडालीलाई पहिलो महिला आत्मघाती हमलाकारी मानिन्छ । १६ वर्षको उमेरमा सानाले सन् १९८५ मा दक्षिणी लेबनान आत्मघाती हमला गरेर दुई इजरायली सेनाहरूलाई मारेकी थिइन् ।

त्यसयता सैन्य समूहहरू जस्तै हेजबोल्लाह, कुर्दीस पी.के.के., तमिल टाइगर्स, हमास र चेचन्याका ब्ल्याक विडो सबैले महिला र केटीहरूलाई आत्मघाती आक्रमणका लागि प्रयोग गरे ।

तर बोको हरामले क्रूरतामा पहिलेका सबै समूहलाई निक्कै पछाडि पारेको छ । पछिल्लो तीन वर्षमा नाइजेरिया, क्यामरुन, चाड र नाइजरमा सयौँ महिलाको प्रयोग आत्मघाती हमलाका लागि प्रयोग भएको छ । सन् २०१७ को अन्त्यसम्ममा ४५४ महिलाहरू वा केटीहर यस्तो कारवाहीमा पठाइएको र ती कारबाहीमा १२२५ मानिसको ज्यान गएको लण्डनस्थित रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका विज्ञ एलिजावेथ पार्सनले भनिन् । पार्सनले बोको हरामले आत्मघाती हमलाका लागि गर्ने गरेको महिलाहरूको प्रयोगबारेमा किताब लेखेकी छिन् ।

सो समूहले आत्मघाती बम हमलाका लागि एउटी केटीको प्रयोग जुन २०१४ मा गरेको थियो । मिलिटरी क्याम्पमा गरिएको सो हमला चिबोकबाट २७६ जना केटीहरू अपहरण गरिएको केही समय पछि गरिएको थियो ।

बोको हरामको यो घटनाले अन्तर्राष्ट्रिय रूपमै ध्यान खिच्न सफल भयो । पार्सनका अनुसार बोको हरामले पहिला केटाहरू प्रयोग गरेर जति पनि आक्रमण गरेको थियो त्यो सबैभन्दा यो एक घटनाले प्रचार भएपछि बोको हरामले केटीहरू मात्र बम हमलाका लागि प्रयोग गर्न थाल्यो ।

यो बर्बरता कार्यान्वयन गर्न उमेरको कुनै हदबन्दी छैन । डिसेम्बर २०१६ उत्तर–पूर्वी नाइजेरियाको एक बजारमा भएको बम हमलामा प्रयोग गरिएका बालिकाहरूको उमेर ७ र ८ थियो ।

छुटकारा
दोस्रो पटक अपहरणमा परेपछि फलमतलाई जङ्गलमा लगियो, यो पटक फरक क्याम्पमा । उनको अपहरणकारीले उनी मिसन छाडेर भागेकी हुन् भनेर पत्ता लगाएका भए उनलाई तत्काल मारिन्थ्यो ।

सो क्याम्पमा पुनः पहिलाकै क्याम्पमा जस्तो दैनिकी थियो, उही रुटिन् । त्यो क्याम्पमा ल्याइएको एक महिनापछि उनलाई पुनः त्यही दुई विकल्प छान्न भनियो– विवाह वा मिसन । उनले पुनः विवाह गर्न अस्वीकार गरिन् । पुनः पहिलेको शृङ्गारको प्रकृया दोहोर्याइयो । यो पटक उनले पहिलो पटकभन्दा फरक कदम चालिन् । लडाकुले छाडेलगतै उनी जङ्गलतर्फ कुदिन् ।

‘मैले केही किसानहरू भेटेँ । तिनको सहयोगमा मैले बेल्ट निकालेँ ।’ उनले भनिन् । किसानहरूसँग छुट्टिएर उनी पुनः जङ्गलको बाटो लागिन् । जङ्गलको बाटो हिँडेर उनी मैदुगुरी र आफ्नो आफन्तकहाँ पुग्न चाहन्थिन् । सो क्रममा उनको भेट शिकारीहरूसँग भयो । शिकारीहरूले उनलाई आफैसँग हिँडाए । तर बाटोमा शिकारीमाथि बोको हरामले आक्रमण गरे । लडाइँकै भागदौडमा फलमत जङ्गलमा उम्किइन ।

तर उनी कुनै निश्चित दिशाबिना जङ्गलमा भौँतारिरहन थालिन् । ‘त्यो समय म एक हप्ता खाना नखाई हिँडिरहेँ । सुत्नका लागि म रुखमा चढ्थेँ । जहाँ जमेको पानी भेट्थेँ पिउँथे । जङ्गलका सानो सानो आवाजले पनि तर्साउँथ्यो ।’ उनले अगाडि भनिन्, ‘तर जस्तोसुकै अवस्थामा पनि म अघि बढिरहँे ।’

त्यसपछि उनी एउटा सानो गाउँमा पुगिन् । त्यहाँको स्थानीय एक परिवारले उनलाई केही दिन बास दियो र मैदुगुरी पुर्याइदियो ।

 

लाञ्छना
घर आइसकेपछि पनि कैयौँ समय उनलाई प्रशासनले आएर समाउला भन्ने डर थियो । अहिले उनी उनकी आमासँग विस्थापितहरूका लागि बनाइएका क्याम्पमा बस्छिन् ।

फलमतजस्तालाई फर्किसकेपछि पनि गाह्रो हुने गर्छ । उनीहरू फर्किएको सेनाले थाहा पाए सेनाले तिनलाई आफ्नो छुट्टै क्याम्पमा राख्ने गर्छ । तिनलाई आतङ्गवादी प्रभाव हटाउन त्यसो गर्ने भनिए पनि उनीहरूलाई के गरिन्छ, त्यो आजसम्म कसैलाई थाहा छैन । सेनाले क्याम्पमा लगेको पहिलो समूह समाजमा निकालिएको भनिए पनि ती कहाँ छन्, केही प्रष्ट पारेको छ्रैन । यसका साथै यसरी फर्केका महिलाहरूलाई समाजले बोको हरामकै सदस्यका रूपमा हेर्ने गरेको पाइन्छ ।

अझ उत्तर–पूर्वी नाइजेरियाको नब्बे प्रतिशत परिवारमा बोको हरामको सङ्कटले असर गरेको छ । घर फर्किंदा तिनमा दोस्रो पटक ‘ट्रमा’ पर्ने घटनासँग साक्षातकार हुने सम्भावन प्रबल हुने गर्छ । २००९ देखि यता बोको हरामले २७००० निर्दोष मानिसको ज्यान लिइसकेका छन् ।

अन्तिममा फलमतलाई दुई पटक कम्मरमा बम बाधेर हातमा त्यसको डेटोनेटर हुँदा पनि बम विष्फोट गर्न के ले रोक्यो भनेर सोधियो । ‘म बाँच्न चाहन्थे’ उनले भनिन्– ‘मार्नु राम्रो होइन । मलाई मेरो परिवारले यही सिकायो र म पनि यसमा विश्वास गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *