एभरेस्ट प्रिमियर लिग क्रिकेट आजदेखि

खेलकुद

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागी ६ टोलीले विभिन्न ६ सहरका नाममा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीमा काठमाडौं किङ्स-११, ललितपुर प्याट्रियट्स, भैरहवा ग्लाडिएर्टस, विराटनगर वारियर्स, पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स-११ र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । आइतबार आयोजित पत्रकारसम्मेलनमा सहभागी टोलीका कप्तान, मार्की खेलाडी र मालिकले ईपीएल ट्रफीसमेत सार्वजनिक गरे । ट्रफी सार्वजनिक कार्यक्रममा ईपीएलका सञ्चालक आमिर अख्तरले ठूलो मेहनतपछि ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको बताए ।

‘नेपाली क्रिकेटलाई आईसीसीले निलम्बन गरेपछि घरेलु क्रिकेटमा संकटमा छ । यस्तो अवस्थामा आयोजना हुन लागेको ईपीएलले खेलाडी र युवा जमातमा उत्साह थपेको छ । हामी ईपीएललाई सर्वाधिक हेरिने घरेलु प्रतियोगिता बनाउन चाहन्छौं,’ कार्यक्रममा आमिरले भने । यसैगरी विराटनगर वारियर्सका सञ्चालक अनुज अग्रवालले घरेलु स्तरमा क्रिकेट ठप्प भएको अवस्थामा ईपीएलले खेलाडीको व्यावसायिकतामा होस्टेमा हैंसे गर्न लागेको बताए । उनले ईपीएल क्रिकेट खेलाडीका लागि आफ्नो प्रतिभा देखाउने उपयुक्त थलो बन्नुका साथै यसले विभिन्न सहरकेन्द्रित समाजलाई एकै थलोमा जोड्ने प्रयास गरेको पनि बताए ।

नेपाली राष्ट्रिय टोलीका उपकप्तान एवं ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नेपाली क्रिकेटका लागि नयाँ आयाम भएको बताए । ‘खेलाडीको हिसाबले प्रतियोगिता खेल्न पाउनुमात्र खुसी होइन । यसले घरेलु क्रिकेटमा सम्भावनाको ढोका पनि खोलेको छ । विदेशी खेलाडीको आगमनले सबैलाई उत्साहित बनाएको छ,’ मल्लले भने । मल्लले आफ्नो टोलीमा युवा र अनुभवी खेलाडीको संयोजन भएकोले राम्रो नतिजा निकाल्ने दाबी पनि गरे ।

यसैगरी काठमाडौं किङ्सका कप्तान श्रीलंकाली खेलाडी फर्विज माहरुफले पहिलो पटक नेपालमा आएर खेल्न पाउँदा निकै खुसी लागेको बताए । ‘ईपीएलले नेपाललाई क्रिकेटको नयाँ गन्तव्य बनाउनेछ । टोलीमा रहेर अभ्यास गर्न पाउँदा निकै खुसी लाग्यो । यहाँका युवा खेलाडी निकै प्रतिभावान् पाएँ । प्रतिस्पर्धीको हिसाबले म आफ्नो टोलीलाई जिताउने कोसिस गर्नेछु । मलाई थाहा छ, ईपीएलको भिडन्त प्रतिस्पर्धात्मक हुनेछ,’ माहरुफले भने ।

भारतका क्रिकेट कमेन्टेटर अरुणलालले ढिलै भए पनि नेपालमा आईसीसीको मान्यता प्राप्त क्रिकेट लिग हुनु गौरवको विषय भएको प्रतिक्रिया दिए । ‘यसले नेपाली खेलकुदमा आमूल परिवर्तन ल्याउनेछ । खेलकुद अर्को पुस्ता र देशका लागि पनि हो । यसले निजी क्षेत्रलाई पनि आकर्षित गरेको छ । ईपीएलले नेपालमा क्रिकेट संस्कृति निर्माणमा सहयोग पुग्नेमा दुविधा छैन,’ उनले भने ।

पहिलो संस्करणमा सामान्य रूपमा सञ्चालन भएको ईपीएलको दोस्रो संस्करण भप्य रूपमा आयोजना गरिन लागिएको हो । गत असारमा ईपीएलको घोषणा भएसँगै यसले क्रिकेट खेलाडीमा समेत उत्साह थपेको छ । ईपीएलमा ६ सहरमा फ्रेन्चाइज टोलीबाट बोलकबोल गरिएका र अनिवार्य तीनजना विदेशी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोलीमा एक÷एकजना मार्की खेलाडी र ‘ट्यालेन्ट हन्ट’ बाट अनिवार्य एक जना स्थानीय खेलाडी राख्नुपर्ने प्रावधानले ईपीएललाई थप रोचक बनाएको छ ।

प्रतियोगितामा स्वदेशी र विदेशीगरी एक सय जना खेलाडीको सहभागिता रहनेछ । १३ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेता टोली र अन्य विधाका खेलाडीले समेत आकर्षक पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको एपी वान एचडी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । यो प्रतियोगितालाई टीभीएसले मुख्य प्रायोजन गरेको छ । सहभागी टोलीलाई पनि विभिन्न कर्पोरेट हाउसले साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *